संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको उच्च शिक्षाको लागि अरुण उपत्यकाभित्रका विद्द्यार्थीहरुमाझ वरुण बहुमुखि क्याम्पस पहिलो रोजाईमा रहदै आइरहेको छ ।
उक्त क्याम्पसमा व्यवस्थापन संकायअन्तर्गत कक्षा ११, १२ तथा बिबिएसमा अध्ययनरत विद्यार्थीहरूको साझा प्रतिनिधित्व गर्ने गुणस्तर समुह (ब्यबस्थापन विद्यार्थी एसोसियसन) र व्यवस्थापन विभागले शैक्षिक गुणस्तर सुधारसंगै विद्यार्थीहरुको व्यक्तित्व विकास लक्षित विविध रचनात्मक तथा सृजनात्मक क्रियाकलापहरु नियमित रूपमा गर्दै आइरहेको क्याम्पसले जनाएको छ।
विद्यार्थीहरुलाई किताबी ज्ञानसंगै व्यवाहारिक तथा जीवनोपयोगी शिक्षा दिने उद्धेश्यले शैक्षिक एवं औधोगिक भ्रमण, प्रतिवेदन लेखन तथा प्रस्तुतीकरण, आन्तरिक पर्यटन प्रवर्द्वनका लागि पदयात्रा, स्थानीय उत्पादनहरुको बजारीकरण, सामजिक तथा समसामयिक विषयवस्तुहरुमा अन्तरक्रिया, क्याम्पस परिसर सरसफाई एवं वृक्षारोपणजस्ता कार्यक्रमहरु व्यवस्थापन विभागको संयोजन र ब्यबस्थापन विद्यार्थी एसोसियसनको सक्रियतामा निरन्तर रुपमा संचालन गरिदै आएको बरुण क्याम्पसका ब्यबस्थापन विभाग प्रमुख नवराज कार्कीले बताए ।
यस वर्षको नेपालीहरुको महान चाड बडादसैं, तिहार र छठ पर्वको पावन अवसरमा क्याम्पसमा अध्ययनरत सबै तह र संकायका विद्यार्थीहरू बीच नवप्रवर्तनात्मक व्यावसायिक विचार प्रतियोगिता आयोजना गरिएको ब्यबस्थापन विद्यार्थी एसोसियसन समुहका अध्यक्ष सुम्निमा राईको भनाइ छ ।उक्त प्रतियोगितामा संयोजकको भुमिका जिल्ला एवं प्रदेश स्तरीय नवप्रवर्तनात्मक व्यावसायिक विचार’ प्रतियोगितामा प्रथम हुन सफल भै राष्ट्रियस्तरको कार्यक्रममा सहभागी भईसकेकी बिबिएस तेस्रो वर्षमा अध्ययनरत छात्रा विमला निरौलाले निर्वाह गरिन् ।
किताबले दिने व्यावसायिक ज्ञानलाई व्यवहारमा उतार्न सहयोग पु¥याउने र स्थानीय समुदायको अर्थतन्त्र विकासमा पनि योगदान पु¥याउने किसिमका नवप्रवर्तनात्मक व्यावसायिक योजनाका प्रस्तावनाहरु माग गरिएकोमा जम्मा १२ वटा प्रस्तावनाहरू प्रतियोगितामा सहभागी भएका थिए । जसमध्ये शीर्षस्थ ४ वटा व्यावसायिक योजनाहरुलाई क्याम्पसको वार्षिकोत्सबको अवसरमा पुरस्कृत गरिने र आगामी वर्षको वरुण दर्पणमा पनि प्रकाशन गरिने क्याम्पस प्रमुख टीकाराम गुरुङले बताए।
जसमा प्रतियोगिताको उत्कृष्ट ४ मा पर्न सफल विद्यार्थी र व्यावसायिक योजना निम्नानुसार छन् :
प्रथमः रेजी राई(कक्षा १२)
शिर्षकः कालो वेसारको सेतो व्यवसाय
द्वितीयः प्रजनिका कुलुङ÷प्रतिमा कुलुङ(बिबिएस चौथो वर्ष)
शिर्षकः संखुवासभामा अल्लो उद्योग
तृतीयः सन्तोष बाह्रकोटी(बिएड तेस्रो वर्ष)
शिर्षकः जापानीज कटुसको व्यवसाय
चौथोः सम्झना निरौला(कक्षा ११)
शिर्षकः दुनाटपरी, स्वस्थ हरघडि
यसका साथै सयपत्री फुलको व्यावसाय, स्वस्थ्यवर्दक च्याउको व्यवसाय, अलैंची व्यवसाय लगायतका विषयहरूमा विद्यार्थीहरूले विभिन्न खोज, अध्ययन–अनुसन्धान गरि व्यवसायिक योजना सहितको लिखित प्रस्तावना प्रस्तुत गरेका थिए । प्रस्तावना लेखनमा मार्गदर्शन गर्ने काम विभागीय प्रमुख नवराज कार्कीले गरेका थिए । भने प्राविधिक सहयोग आरएमसिका प्रमुख रूद्रनाथ दाहालले गरेका थिए ।
व्यावसायिक योजनाको प्रस्तुतिलाई हेरिसकेपछि घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमचन्द्र राई र क्याम्पस संचालक समितिका सदस्य खड्गबहादुर राईले विद्यार्थी भाइबहिनीहरुको व्यावसायिक सोचलाई व्यवहारमा उतार्न आवश्यक पर्ने विविध सहयोग गर्न सकिने बताए । विद्यार्थीहरुले तयार पारेका यस्ता व्यावसायिक योजनाहरुलाई बैंकहरुले प्रमाणपत्र धितो राखेर पनि ऋण उपलब्ध गराउन सकिने कुरा कार्यक्रमका विशिष्ट अतिथि एभरेष्ट बैंक खाँदबारी शाखाका कर्जा प्रमुख आलोक दाहालले बताए ।
त्यसैगरि एभरेष्ट बैंक खाँदबारी शाखाका कर्जा प्रमुख आलोक दाहालले विद्यार्थीहरुले तयार पारेका यस्ता व्यावसायिक योजनाहरुलाई बैंकहरुले प्रमाणपत्र धितो राखेर पनि ऋण उपलब्ध गराउन सकिने बताए ।
विद्यार्थीहरुलाई रोजगारीको खोजी होइन स्वरोजगारीको सृजना गर्न उत्प्रेरित गर्न उद्धेश्यले आयोजना गरिएको यस प्रतियोगितामा प्रथम पुरस्कार स्थानीय युवा व्यवसायी हिमाल श्रेष्ठ र द्वितिय पुरस्कार युवा व्यवसायी प्रविण श्रेष्ठ, तृतीय पुरस्कार व्यवस्थापन संकायका प्रमुख नवराज कार्की र सान्त्वना पुरस्कार बिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी प्रेमसिंह राईले सौजन्य गरेका थिए ।