- सञ्जय ओझा
संखुवासभा । युडब्लुएस नेपाल संखुवासभाको आयोजनामा जिल्ला भित्रका युडब्लुएस नेपालसँग सहकार्य गरी संचालनमा रहेका विभिन्न सात वटा सामुदायिक विद्यालयका शिक्षकहरुलाई आधारभूत गणित तथा भाषा सम्बन्धि तालिम सम्पन्न भएको छ ।
जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर ११ स्थित युडब्लुएस पिप्ले अर्चले विद्यालयमा असार ६ गते देखि ८ गते सम्म संचालन भएको तालिममा सात वटा विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यापन गराउने १९ जना शिक्षकहरुको उपस्थिति रहेको थियो ।
तालिममा नेपाली,अङ्ग्रेजी र गणित विषयलाई कसरी विद्यार्थी केन्द्रित, मनोरन्जनात्मक र खेल विधीहरुको प्रयोग गरेर शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न सकिन्छ भनेर शिक्षकहरुलाई विभिन्न विधि र तरिकाहरुको बारेमा जानकारी गरईएको युडब्लुएस नेपाल संखुवासभाका सिनियर एजुकेसन अफिसर बिक्रम भट्टराईले जानकारी दिए ।
सहभागी युडब्लुएस दुधनाथ विद्यालयका शिक्षक सन्तोष तामाङले सहभागी शिक्षकको तर्फबाट बोल्दै यस्तो रचनात्मक तथा फलदायी तालिम प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कक्षाकोठामा व्यवहारीक रुपमा उपयुक्त हुने तरिका सहितका रचनात्मक तालिमको निरन्तरताले सामुदायिक विद्यालयको घट्दो शैक्षिक स्तरलाई उकास्न साथै शिक्षकहरु कक्षाकोठामा उपयुक्त विधि सहित तयार भएर जाने वातावरण सिर्जना हुने र यस्ता तालिमको निरन्तरताले सिकेका र अनुभव गरेका विषयमा पुनर्ताजगी समेत हुने हुनाले यसको निरन्तरताका लागी अनुरोध समेत गरे ।
युडब्लुएसका तर्फबाट शिक्षा विभागका आशिष अधिकारीले अब आउने दिनहरुमा यो तालिम पश्चात युडब्लुएसका एजुकेसन अफिसरहरु मार्फत संखुवासभा भोजपुर र ताप्लेजुङका युडब्लुएस मातहतका सबै विद्यालयहरुमा यो तालिम संचालन गरिने जानकारी दिए । उनले युडब्लुएस संस्थाको प्रोजेक्ट संचालन भै रहेका सम्पुर्ण जिल्लाहरुका स्थानीय तहहरुसंग समन्वय गरि यस्ता तालिम हरु दिदै गैरहने समेत जानकारी दिए ।
युडब्लुएस नेपाल बवगत आठ बर्ष देखि नै संखुवासभा, भोजपुर, ताप्लेजुङ ,गुल्मी तथा तनहुँका विभिन्न स्थानीय तहमा निरन्तर रुपमा ग्रामीण र सीमान्तकृत समुदायहरूमा बस्ने बालबालिकाको शिक्षा र शैक्षिक अवसरहरू सुधार गर्न प्रतिबद्ध हुँदै आइरहेको छ। संस्थाले गुणस्तरीय र समावेशी शिक्षाको पहुँचबाट ग्रामीण नेपालका १४ हजार भन्दा बढी विद्यार्थीहरूलाई लाभान्वित भएका छन् ।